नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम हुँदै

(File Photo)

८ जेठ, नवलपुर ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३ सय जना मजदूर खटिएको जानकारी दिए । ‘निषेधाज्ञा अगाडि दैनिक ५ सय मजदुर सडक विस्तारको काममा खटिएका थिए,’ आचार्यले भने, ‘निषेधाज्ञामा दैनिक ३ सय मजदुर काममा छन् ।’ निषेधाज्ञाका बेला घर गएका मजदुर काममा फर्किन नपाउँदा मजदुरको सङ्ख्या केही घटेको आचार्यले बताए ।

सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, ढल निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ । ‘यस सडकखण्डमा १२ ठूला पक्की पुल तथा २२ साना पक्की पुल बन्दैछन्,’ आचार्यले भने, ‘साना पुल निर्माणका लागि सडक डाइभर्सनदेखि ठूला पुल निर्माणका लागि फाउण्डेशन तयार पार्ने काम भइरहेको छ ।’ यस सडकखण्डमा पर्ने १२ वटा फलामका पुल हटाएर ठूला पक्की पुल निर्माण गर्न लागिएको हो ।

गैँडाकोटको जयश्रीखोला, झराहीखोला, देवचुलीको लोकाहा र कावासोतीको पत्थरखोलामा ठूला पुल निर्माणका लागि पुलको जग बस्ने ठाउँमा पाइप गाड्ने काम भएको छ । त्यस्तै गैँडाकोटको थुम्सीबाट अमरापुरीसम्म आठवटा साना पुल निर्माणको काम भइरहेको छ ।

‘सानामध्ये दुईवटा पुलको निर्माण अन्तिम चरणमा पुगेका छन्, दुईवटाको स्ल्याप ढलान भइसकेको छ विङवाल निर्माणपछि ती पुलमा सवारी साधन सञ्चालन गर्न सकिन्छ,’ आचार्यले भने, ‘अन्य पुलमा पनि जग खन्ने र पिलर निर्माणको काम भइरहेको छ ।’

आयोजनाअन्तर्गत गैँडाकोटबाट अरुणखोलासम्मका रुखहरुको कटान लगभग पूरा भएको आचार्यले बताए । ‘गैँडाकोटबाट अरुणखोलासम्म बिजुलीको पोल भएको स्थानमा बाहेक दुवैतर्फको रुख कटान सकिएको छ,’ उनले भने, ‘अरुणखोलाबाट दुम्किबाससम्मका रुख भने कटानको काम भइरहेको छ ।’ रुख कटान भएको स्थानमा माटो भर्ने कामसमेत अगाडि बढिरहेको छ ।

रुख कटान सकिएको स्थानमा माटो भर्ने तथा ढल निर्माण गर्ने काम तीव्ररूरुपमा अगाडि बढाइएको छ । केही स्थानमा टिकास ड्रेन निर्माण हुँदैछ, जुन ड्रेन बाहिर बनाएर ल्याएर राखिन्छ । टिकास ड्रेन राख्दा बलियो र काममा छिटोछरितो हुने भएकाले यो प्रयोग गर्न शुरु गरेको आयोजनाले जनाएको छ । स्थानीय प्रशासनको सहयोगमा निर्माण सामग्री लिएर आउनेदेखि निर्माणको काम अगाडि बढिरहेको छ ।

सडक विस्तारको काम छ प्रतिशत सम्पन्न भएको छ । ‘काममा पैसा खर्च भएको हिसाबले प्रगति प्रतिशत निकाल्ने गरिन्छ, अहिलेसम्म रुख काट्ने र माटो भर्ने काम भएकाले भौतिक प्रगति थोरै देखिएको हो,’ आचार्यले थपे, ‘यी काम सकिएर अरु काम शुरु भएपछि भौतिक प्रगति बढ्छ, काम धेरै नै भइसकेको छ ।’

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबलको १ सय १४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर विसं २०७५ चैत ८ देखि निर्माण शुरु भएको थियो । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार शुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनीयरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा पाएको हो ।

१ सय १४ किमी सडकखण्डको काम गैँडाकोट–दाउन्ने (६५ किमी) र दाउन्ने–बुटवल (४९ किमी) दुई खण्डमा विभाजन गरेर भइरहेको छ । हाल दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो ।

दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ ।

बजार क्षेत्रमा छ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्ने गरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here