८ जेठ, काठमाडौं ।
आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा सम्पुर्ण जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा आइपुग्दा १९ जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ३ खर्ब ६४ अर्ब ३० करोड ८ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको जीवन बीमा कोषमा २ खर्ब ७८ अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको जीवन बीमा कोषको आकार ३० दशमलव ९९ प्रतिशतले बढी हो ।
बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण मानिन्छ । यस अवधिसम्ममा पुरानो कम्पनीहरमध्ये सबैभन्दा धेरै जीवन बीमा कोषको आकार सूर्या लाइफको ५० प्रतिशतले बढेको छ । त्यसैगरी नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रभु लाइफको जीवन बीमा कोषको आकार १८२ प्रतिशतले बढेको छ ।
यस अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा कोषमा सबैभन्दा धेरै रकम जम्मा गर्ने कम्पनी बन्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ जीवन बीमा कोषमा जम्मा गरेको छ ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ७७ अर्ब ५४ करोड रुपैयाँ रकम जीवन बीमा कोषमा जम्मा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६३ अर्ब ६७ करोड रुपैयाँ जीवन बीमा कोषमा राखेको थियो ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा जीवन बीमा कोषमा २७ दशमलव ५६ प्रतिशतले बृद्धि गरी ४० अर्ब २१ करोड रुपैयाँ जम्मा गरेको छ ।
त्यस्तै, राष्ट्रिय बीमा संस्थानले गत आथिृक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष २१ दशमलव ५१ प्रतिशतले बृद्धि गरी ३२ अर्ब ४४ करोड रुपैयाँ जम्मा गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा २५ अर्ब ४२ करोड रुपैयाँ जीवन बीमा कोषमा राखेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २६ दशमलव १७ प्रतिशतले बढी हो ।
मेट लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १९ अर्ब १६ करोड रुपैयाँ रहेको छ । गत आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ७ दशमलव ४५ प्रतिशतले बढी हो ।