६ जेठ, काठमाडौं ।
सामाजिक संजालमा बलिउडकी सफल कोरियोग्राफर गीता कपुरले सिउँदोमा सिन्दुर लगाएको तस्वीर शेयर गरिन् । उनको यो तस्वीर सामाजिक संजालमा भाइरल भयो ।
धेरै फ्यानले उनलाई बिहे गरेकोमा वधाई समेत दिन भ्याए । मिडियामा भने गीता कपुरको सिउँदोमा लागेको सिन्दूको बिषयमा खुबै चर्चा भयो । तर गीताले भारतीय मिडियासँग कुरा गर्दै आफूले बिहे नगरेको र बिहे गरेको खण्डमा आफूले नलुकाउने पनि उल्लेख गरेकी छिन् ।
गीताले भनेकी छिन्, ‘बिहेको फैसला म लुकेर गर्दिनँ । मेरो आमाको निधन भएको ४ महिना मात्र भएको छ, यसैले म सबैसँग भन्न चाहन्छु कि मैले बिहे गरेको छैन ।’
गीताले सुपर डान्सर सिजन ४ को छायांकनका क्रममा आफूले बलिउड नायिका रेखालाई समर्पित गर्दै सिन्दुर लगाएको बताएकी छिन् । उनले भनिन्, ‘यो शोको आउँदो भागमा हामीले बलिउड क्विन स्पेशल सुट गरेका छौं । मैले मेरो आइडल रेखालाई समर्पित गर्दै सिन्दुर लगाएकी हुँ । बिहेको खुशी म सबैसँग शेयर गर्नेछु ।’
४७ बर्षकी गीताले अहिलेसम्म बिहे गरेकी छैनन् । तर, उनलाई धेरैले आमा माता भन्ने गरेका छन् ।