४ जेठ, दैलेख ।
जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा.२०च ७१५ नम्बरको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका– ३ कर्णाली राजमार्गको सियालामा जिप दुर्घटनामा परी जुम्लाको गुटिचौर गाउँपालिका– ४ का जिपचालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर– २ की २७ वर्षीया लक्ष्मी न्यौपानेको घटनास्थलमै मृत्यु भएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।
मंगलबार बिहान साढे ६ बजे ब्रेक फेल भई जिप कर्णाली राजमार्गबाट करिब पाँच सय मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकाको उद्धारकै क्रममा मृत्यु भएको र घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।
दुर्घटनालगत्तै उद्धारका लागि पाल्तडाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।