डिपोले अक्सिजन दिन नमानेपछि गजेन्द्रनारायण सिंह अस्पतालका ४७ बिरामीको जीवन अनिश्चित

३ जेठ, सप्तरी ।

जिल्लाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अक्सिजनको हाहाकार भएको छ । यसअघि सुनसरीको दुहबीबाट ल्याइरहेको अक्सिजन त्यहाँको डिपोले दिन नमानेपछि अक्सिजन सपोर्टमा उपचार गराइरहेका ४७ बिरामीका आफन्त चिन्तित छन् ।

डिपोका कारण अक्सिजन आपूर्तिमा समस्या भएको अस्पतालका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बताए । ‘गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनका १ सय १० वटा सिलिण्डर छन् । तीमध्ये खाली भएका २४ वटा सिलिण्डर आज बिहानै दुहबीस्थित डिपोमा पठाएका छौं,’ उनले भने, ‘तर त्यहाँको डिपोले भर्न मानेको छैन ।’

यस विषयमा प्रमुख जिल्ला अधिकारीले डिपोमा फोन गरिसकेको तर पनि अक्सिजन भर्न नमानेको डा. झाले बताए । डिपोले तीन दिनपछि मात्रै अक्सिजन उपलब्ध गराउने जानकारी दिएको झाको भनाइ छ ।

तत्कालै अक्सिजन उपलब्ध नभए अस्पतालमा उपचार गराइरहेका बिरामीको अवस्था नाजुक हुन सक्ने उनले बताए । ‘दिंदै आएको डिपोले एक्कासी तीन दिनपछि अक्सिजन दिने बताउँदा दिमागले काम गर्न छोडेको छ,’ उनले भने, ‘अहिलेसम्म भर्ना भएका सबै कोरोना संक्रमित अक्सिजनकै भरमा छन् । नआए उनीहरुलाई धेरै समस्या हुन सक्छ ।’

अहिले अस्पतालको एचडीयू कक्षमा २५ जना, आकस्मिक कक्षमा २० र साईकृष्णा मेडिकल कलेज भवनमा रहेको कोरोना अस्पतालमा १६ जना गरी ४७ जना उपचार गराइरहेकोमा ४७ जना अक्सिजनकै सपोर्टमा छन् ।

डा. झाले यी सबैलाई मंगलबार बिहानसम्म अक्सिजन उपलब्ध गराउन सकिए पनि त्यसपछि हात उठाउन सक्ने अवस्था आएको बताए । अक्सिजनको चरम अभावतर्फ ध्यान दिन र उपलब्ध गराइदिन उनले सबै सरोकारवालासँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here