३ जेठ, जनकपुरधाम ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन राष्ट्रसंघीय निकायसँग आग्रह गरेका छन् ।
प्रदेशस्थित राष्ट्रसंघीय निकायका प्रतिनिधिसँग सोमबार बिहान छलफल गर्दै मुख्यमन्त्री राउतले यस्तो आग्रह गरेका हुन् । छलफलमा मुख्यमन्त्री राउतले भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन आग्रह गरे ।
राष्ट्रसंघीय निकायले नेपाललाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको बताउँदै मुख्यमन्त्री राउतले यो सहयोग प्रदेश २ सम्म ल्याउनका लागी पहल गर्न पनि आग्रह गरेका थिए ।
युएनडिपीका धनबहादुर चन्द, युएनडीएसएसका जितेन्द्र जंग कार्की, डब्लुएचओका डा. सुरेशकुमार शुक्ला, आइओएमका पंकजलाल सिह, युनिसेफका अशोक कुमार झा र युएनएफपिएका नरेन्द्र मिश्रसहितको सहभागितामा उक्त छलफल भएको थियो ।
जसमा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री राउतसहित समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको पनि सहभागिता थियो ।