३ जेठ, मोरङ ।
कोरोना संक्रमणको दर बढेसँगै अहिले अन्य प्रदेशका कोभिड विषेश अस्पतालमा अक्सिजनको चरम अभाव छ । यस्तो अवस्थामा अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने गम्भीर बिरामीहरुको उपचारलाई प्रदेश १ का उद्योगहरूले अक्सिजन आपूर्ति गरेर भरथेग गर्दै आएका छन् ।
प्रदेश १ बाहेक अन्य ६ वटै प्रदेशमा अक्सिजनको चरम अभाव छ । तर, प्रदेश १ भने अक्सिजनमा आत्मनिर्भर देखिएको छ । हालकै अवस्थामा प्रदेशमा अक्सिजनको कुनै अभाव नभएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गम्भीर प्रकारका संक्रमितको उपचारका लागि आवश्यक अक्सिजनको अभावले राजधानीसहित देशका विभिन्न अस्पतालमा बिरामीले अकालमा ज्यान गुमाउनु परेपछि सुनसरी र मोरङबाट अक्सिजन आपूर्ति हुन थालेको छ । अहिलेकै अवस्थामा प्रदेश १ मा अक्सिजनको आपूर्ति ब्यवस्था सहज रहेकाले सुनसरी र मोरङ जिल्लामा रहेका पाँचवटा उद्योगले अक्सिजनको राजधानीसहित देशका विभिन्न अस्पतालहरुमा अक्सिजन आपूर्ति गर्दै आएका छन् ।
प्रदेश १ मा सुनसरीमा तीन र मोरङमा दुई गरी साना–ठूला पाँचवटा उद्योग छन् । यी उद्योगले प्रदेशको अक्सिजनको मागलाई धान्दै काठमाडौं लगायत अन्य जिल्लाका कोभिड विशेष अस्पतालमा समेत आपतकालीन उपचारका लागि आवश्यक अक्सिजन आपूर्ति गर्दै आएका छन् ।
सुनसरी र मोरङमा रहेका उद्योगले दैनिक २ हजार ७ सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । प्रदेशभरिका अस्पतालमा अहिले दैनिक सरदर १ हजार सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ ।
‘प्रदेश १ का कोभिडसहितका अस्पतालमा दैनिक अक्सिजनको माग १ हजार सिलिन्डर रहेको छ’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले भने, ‘आजको मितिसम्म प्रदेशमा अक्सिजनको कुनै समस्या छैन । प्रदेशलाई आपूर्ति गरेर पनि हामीले एक सातादेखि राजधानीसहित देशका विभिन्न कोभिड–१९ अस्पतालमा यस प्रदेशबाट अक्सिजन पठाउँदै आएका छौं ।’
प्रदेश १ मा सहज आपूर्ति व्यवस्था भइरहेसम्म यो कार्यले निरन्तर पाइरहने उनले बताए । सहायक सीडीओ तिम्सिनाले विभिन्न अस्पतालबाट आएको अक्सिजनको मागलाई आधार बनाएर प्राथमिकताका आधारमा जिल्ला प्रशासनको अनुमतिमा सम्बन्धित उद्योगले ती अस्पताललाई अक्सिजन दिने ब्यवस्था मिलाइएको बताए ।
मोरङका दुई उद्योग हिमाल र मारुतीबाट उत्पादन हुँदै आएको अक्सिजन नियमितरुपमा गत सातादेखि कम्तिमा १ सयदेखि तीन सय सिलिन्डर अक्सिजन बाहिरी प्रदेशका अस्पतालमा पठाउने गरिएको तिम्सिनाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मोरङले अक्सिजन सप्लाई गरेको अस्पतालको अभिलेख राख्ने गरेको छ । सोहीअनुसार क्रम मिलाएर सबै अस्पतालमा अक्सिजन आपूर्ति गर्ने गरिएको छ भने प्रशासनको अभिलेख अनुसार एक साताको अवधिमा काठमाडौंसहितका देशका विभिन्न अस्पतालमा १ हजार बढी सिलिन्डर अक्सिजन पठाइसकिएको प्रशासन कार्यालयले जनाएको छ ।
मोरङमा रहेका दुई उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी दैनिक १६ सय सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । सहायक सीडीओ तिम्सिनाका अनुसार यसअघि दैनिक पाँच सयको हाराहारीमा मात्रै अक्सिजन सिलिन्डर उत्पादन हुदै आएकोमा अहिले सुरक्षा र नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाइएको छ ।
त्यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पनि गत सातादेखि नियमितरुपमा राजधानी काठमाडौं लगायत पश्चिम नेपालका विभिन्न अस्पतालमा सुनसरीबाट अक्सिजन पठाइएको जानकारी दिए । उनले सुनसरीका रहेका तीनवटा उद्योगबाट यो अवधिमा २ हजार बढी अक्सिजन सिलिन्डर भरेर विभिन्न अस्पतालमा पठाइएको बताए । गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको स्काई ट्रकमार्फत एयर लिफ्ट गरेर तीन दिनदेखि सुनसरीका उद्योगहरुबाट अक्सिजन भरेर आपूर्ति भइरहेको छ ।
उद्योगहरुलाई चौबिसै घण्टा प्लान्ट चलाउन लगाएर अक्सिजन उत्पादन बढाउन लगाइएको छ । सुनसरीमा रहेका ३ वटा अक्सिजन प्लान्टहरु अहिले २४ सै घण्टा सञ्चालनमा छन् । ती उद्योगले दैनिक १ हजार २ सय ५५ सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । प्रदेश नं १ मा ५ वटा अक्सिजन उत्पादन उद्योग रहेका र तीमध्ये ३ वटा उद्योग सुनसरी जिल्लामा छन् । इटहरीमा २ वटा उद्योग छन् भने दुहबीमा एउटा छ ।
इटहरीस्थित दुर्गा अक्सिजन उद्योगका प्रोपाइटर आशिष मित्तल अक्सिजन उत्पादन पर्याप्त भए पनि सिलिन्डरको समस्या भएको बताउँछन् । उनका अनुसार माग कम भएपछि उद्योगको क्षमताको मात्र ४०÷४५ प्रतिशत अक्सिजन प्लान्ट चलेको थियो । सिलिन्डर पर्याप्त हुने र अक्सिजन खपत भएमा क्षमताअनुसार नै उत्पादन हुने उनले बताए ।
प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले प्रदेशमा रहेका पाँच उद्योगबाट प्रदेशका सबै अस्पतालको माग धान्न सक्ने अवस्थामा अक्सिजन उत्पादन भइरहेको बताए । उनले अहिले प्रदेशका कोभिड र नन कोभिड अस्पतालमा दैनिक १ हजार सिलिन्डर अक्सिजन माग भए पनि त्यो भन्दा दोब्बर मात्रामा उद्योगहरुबाट अक्सिजन उत्पादन हुँदै आएको कार्कीले बताए ।क
मन्त्रालयका अनुसार कोरोना उपचारका लागि ८३ बेडसहितको कोशी कोभिड अस्पतालमा दैनिक ४ सय सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । अहिले ९६ बेड सञ्चालन हुँदा ४०० सिलिन्डर अक्सिजन खपत भइरहेको अस्पतालले सबै बेडमा बिरामीको उपचार थालेको खण्डमा ७०० सिलिन्डरभन्दा बढी अक्सिजन दैनिक आवश्यक पर्नेछ ।
बिराटनगरस्थित नोबेल मेडिकल कलेजसँग भने ३०० बेडका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट छ । नोबेलले आफ्ना बिरामीको उपचारमा आफ्नै प्लान्टबाट उत्पादन गरेको अक्सिजन प्रयोग गर्दै आएको थियो । तर, कोभिडका बिरामीको संख्या बढेपछि उसले पनि विभिन्न उद्योगहरुबाट दैनिक ३०० सिलिन्डर अक्सिजन खरिद गरेर बिरामीको उपचार गर्दै आएको छ ।
नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलले ठूलो क्षमताको अर्को अक्सिजन प्लान्ट पनि स्थापना गरिरहेको छ । बढीमा ७ दिनभित्र प्लान्ट स्थापना भइसक्ने जानकारी उनले दिए । त्यसपछि भने नोबेल अक्सिजनमा आत्मनिर्भर हुनेछ ।
विराटनगरमा सञ्चालित अन्य अस्पतालहरुमा भने आफ्नै अक्सिजन प्लान्ट छैन । उनीहरुले उद्योगहरुमै भर पर्नुपर्ने अवस्था छ । उद्योगहरूसँग पनि केमिकल लिक्वीड न्यून मौज्दात रहेको बताइएको छ । उद्योग सञ्चालकहरूले कच्चा पदार्थको अभाव रहेको जानकारी सरकारलाई दिइसकेका छन् । यद्यपि उनीहरुले भारतबाट कच्चा पदार्थ आयातका लागि निरन्तर प्रयत्न भने जारी राखेका छन् ।
अहिलेसम्म प्रदेश १ मा अक्सिजनको अभाव भइसकेको छैन । सुनसरी, र मोरङमा गरी पाँचवटा अक्सिजन प्लान्ट अहिले सञ्चालनमा छन् । सञ्चालनमा रहेका अधिकांश प्लान्टहरु ‘केमिकल लिक्वीड’ प्रशोधन गरेर अक्सिजन उत्पादन गर्ने प्रकृतिका छन् ।
सारडा ग्रुपले सञ्चालन गर्दै आएको अक्सिजन प्लान्टले भने केमिकल लिक्वीड र एयरबेस दुबै विधिबाट अक्सिजन उत्पादन गर्ने गरेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि अस्पतालको अक्सिजन प्लान्टबाट आवश्यक अक्सिजन आपूर्ति गर्दै आएको छ ।