२ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण यो तहमा बढ्ला भनेर आफूले आँकलन नगरेको स्वीकार गरेका छन् ।
शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ । त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन । तर यस तहमा वृद्धि भयो । सामान्य इम्युन सिस्टमले पनि यसलाई रेसिस्ट गर्न सक्दोरहेनछ ।’
यद्यपि रोग प्रतिरोधात्मक क्षमताको काम छैन भन्ने नभएको उनले बताए । ‘जति मान्छे रिभाइभ भएका छन्, त्यसमा पनि अवश्य पनि इम्युन सिस्टमको भूमिका हुन्छ,’ उनले भने ।
नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता प्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता असाधारण रहेको जिकिर गर्दै आएका थिए । २८ जेठ, २०७७ मा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यही दोहो¥याएपछि पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ‘हाम्रो रोग प्रतिरोधी क्षमता बढी छ भनेर कसले भन्यो ?’ भनेर प्रश्न गरेका थिए । त्यसबेला प्रधानमन्त्री ओलीले ‘भर्खरै सुन्नुभयो नि मैले भनेको, त्यो त मैले भनें’ भनेर ओठे जवाफ फर्काएका थिए ।
तर एक वर्षपछि प्रधानमन्त्री ओलीले आफ्नो बुझाइ गलत भएको स्वीकार गरेका छन् ।
बैठकमा प्रधानमन्त्रीले महामारी नियन्त्रणमा समन्वय अभाव भएको बताएका छन् । झण्डै पौने तीन घण्टा सहभागीहरुलाई सुनेका प्रधानमन्त्री ओलीले समन्वयको अभाव भएको स्वीकार गरेका छन् । साथै यसलाई सम्बोधन गर्न समन्वय गर्ने र निर्णायक पनि हुने संयन्त्र तयार पार्ने उनले बताएका छन् ।
‘म सरकारको तर्फबाट भन्न चाहन्छु, समन्वयको प्रभावकारी व्यवस्था गरिनेछ,’ उनले भने, ‘जस्तो, प्लान्ट राख्नुप¥यो भने कहाँ खोज्न जाने, कसलाई भन्न जाने होइन । एक ठाउँ हुन्छ, जहाँ म राख्छु भनेपछि त्यो आवश्यक छ कि छैन तत्काल जवाफ दिइन्छ । त्यसमा के–के सुविधा दिन सकिन्छ, तत्काल दिइन्छ ।’
आयूर्वेदिक पद्धतिको सहारा लिऔँ
प्रधानमन्त्री ओलीले कोरोना सरेर पनि फोक्सोमा पुग्न नदिने उपाय हुन्छ कि हुँदैन भनेर चासो राखेका छन् । ‘मेडिकल हिसाबमा पनि कोभिड सरेर पनि लङ्समा जानबाट कसरी जान नदिने भन्ने उपायहरु पनि होला नि ? यो उपायमा पनि ध्यान दिन जरुरी छ,’ सम्बोधनका क्रममा उनले भने भने, ‘नाकबाट सर्छ भने अन्यत्र ट्रान्समिट हुन नपाई नाकमै त्यसलाई खत्तम पार्ने, थ्रोटमा सर्छ भने लङ्समा जान नदिई थ्रोटबाटै खत्तम पार्ने उपाय पनि हुन्छ होला । त्यो पनि अपनाउने जसले गर्दा अक्सिजन, भेन्टिलेटर लगाउनुपर्ने विन्दुमा मानिस नपुगोस् ।’
उनले अघि भने, ‘कतिपयले तीन दिनमा ठीक पार्छु भनेका छन्, कतिले पाँच दिनमा ठीक पार्छु भनेका छन् । यस्तो ठीक हुँदै हुँदैन भन्न सकिन्न । त्यसकारण आयुर्वेदिक परम्परागत उपचार पद्धतिको सहारा लिने कुरामा पनि ध्यान दिनुपर्छ ।’
अहिले चाहिं अक्सिजन उपलब्ध गराउनुपर्ने भन्दै उनले त्यसका लागि प्लान्ट स्थापना र सञ्चालन गर्नुका साथै तत्काल बाहिरबाट ल्याउनुपर्ने बताए । सिलिण्डरको संख्या सुन्दा खासै समस्या हुनुपर्ने स्थिति नलागेको तर मिसप्लेस भएकाले समस्या देखिएको भन्दै उनले ध्यानाकर्षण गराएका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य संरचना कोल्याप्स भयो भनेकोमा असन्तुष्टि जनाए । केही पनि भएन भन्नु गलत भएको भन्दै देशभरमा प्रयोगशाला स्थापना, आईसीयू, भेन्टिलेटर थपिएको स्मरण गराएका छन् ।