विवाद समाधानका लागि एमालेमा बन्यो कार्यदल

२ जेठ, काठमाडौं ।

नेकपा एमालेमा रहेको विवाद समाधान तथा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल गठन भएको छ । आइतबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवर्ताले कार्यदल गठन गरेको हो ।

कार्यदलमा दुवै पक्षका ५-५ नेता छन् । अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

कार्यदल गठनको जानकारी दिँदै वरिष्ठ नेता नेपालले भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’

शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको थियो । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here