२ जेठ, काठमाडौं ।
सरकारले कोरोना महामारी नियन्त्रण गर्ने क्रममा गत १६ गतेबाट लागू गरेको निषेधाज्ञाले दुग्ध क्षेत्रमा निकै असर गरेको छ । दैनिक १० करोड रुपैयाँ हाराहारीमा घाटा भइरहेको उद्योगीहरुको भनाइ छ ।
दैनिक रुपमा उत्पादन गरी खपत हुने दुग्ध क्षेत्रमा सरकारले लागू गरेको निषेधाज्ञाले बजारमा बिक्री हुन नसक्दा प्रभाव परेको हो । गत वर्ष पनि कोरोना महामारीले गर्दा यस क्षेत्रमा आबद्ध भएका किसान तथा उद्योगीले उत्पादन गरेका आधा दुध बजारमा बिक्री भएको थिएन । यो वर्ष पनि सोही अवधिमा दुध बिक्री नभई समस्या हुन थालेको व्यवसायीहरू बताउँछन् ।
सामान्य अवस्थामा यो बेला माग अनुसार बजारमा आपूर्ति गर्न नसक्ने अवस्था हुन्छ । तर, कोरोनाले गर्दा गत वर्ष र यो वर्ष भने उत्पादन भएका ६० प्रतिशत दुध नै खपत हुन नसकेको व्यवसायीहरू बताउँछन् ।
सरकारले गत बैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाले ६० प्रतिशतले दुग्ध क्षेत्रको बजार गुमेको डेरी उद्योग एशोशिएसनका महासचिव प्रह्लाद दाहालले जानकारी दिए ।
सामान्य अवस्थामा ३२ लाख लिटर देशभर खपत हुँदै आएको दुध अहिले निषेधाज्ञाले गर्दा दैनिक १३ लाख लिटर मात्र खपत भइरहेको छ । यसै कारण डेरी क्षेत्रमा दैनिक १० करोडको घाटा रहेको दाहालको दाबी छ ।
निषेधाज्ञाको समयमा दैनिक खपत हुँदै आएको दुध बजारमा खपत हुन छोडेपछि किसनाबाट आधा मात्रै खरिद गरेको उनले बताए । कसाथै, हालसम्म किसानले पनि खपत हुन नसकेको दुध आन्तरिक रुपमा व्यवस्थापन गर्दै आएको उनको बुझाइ छ ।
त्यसैगरी सरकारले दिन प्रतिदिन बजार थप कडाई गर्दै आएकाले केही दिनमा सो खपत भएको दुध पनि बिक्री नहुने उनको अनुमान छ । ‘दुधको लागि बजार सँधै खुलिरहेको अवस्थामा मात्र व्यापार हुन्छ,’ उनले भने, ‘निषेधाज्ञामा दिनमा एक पटक मात्रै खोल्ने व्यवस्था गरेको छ । जसमा बिहान र बेलुका गरेर दुई पटक खोल्न सकेमा केही व्यापार बढ्थ्यो । त्यसमा दुध अत्यावश्यकभित्र नपरेको र छिट्टै बिग्रने हुँदा यस क्षेत्रलाई धेरै प्रभाव पारेको छ ।’
यसले गर्दा सबै उद्योग, किसान र व्यवसायी मिलेर यस क्षेत्रको व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । त्यस्तै, नेपाल डेरी एशोेसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले पनि अहिले उत्पादन भएका ४० प्रतिशत दुध मात्रै खपत भएको बताए । उनका अनुसार देशभर तीब्र रुपमा कोरोना संक्रमण बढेसँगै किसानहरूले उत्पादन भएको दुधको व्यवस्थापन गरेको बताए ।
‘हाल खपत भइरहेको दुधमा १५ प्रतिशत प्रशोधनको लागि सुजल डेरी मिल्क र चितवन डेरी मिल्क उद्योगमा पाउडर बनाउनको लागि खपत भइरहेको छ,’ उनले भने, ‘बाँकी २० प्रतिशत २५ प्रतिशत दुध आन्तरिक रुपमा किसानहरूले नै खपत गरिरहेका छन् ।’
सामान्य अवस्थामा देशभर दैनिक करिब ६२ लाख लिटर दुध उत्पादन हुने गर्दछ । उक्त उत्पादन भएका ५० प्रतिशत बजारमा प्रशोधन नभईकन बजारमा पुग्दछ ।
त्यसमा औपचारिक क्षेत्रबाट १७ प्रतिशत अर्थात ९, १० लाख लिटर दुध प्रशोधन भएर बजार जाने गर्दछ भने अनौपचारिक क्षेत्रबाट ३३ प्रतिशत अर्थात १८, १९ लाख लिटर दुध प्रशोधन भएर बजारमा पुग्दछ । तर, अहिले निषेधाज्ञाले भने करिब ४ लाख मात्रै औपचारिक क्षेत्रमा खपत भएको उनको भनाइ छ ।
३ अर्बको उत्पादित डेरी मौज्दात
सामान्य अवस्थामा यस बेला दैनिक उत्पादन भएका दुधले बजार धान्न सक्दैनथ्यो । यसबेला दुध बढी उत्पादन हुने समयमा प्रशोधन गरेर राखेको पाउडर दुधको अत्याधिक प्रयोग हुन्थ्यो ।
तर, गत वर्ष कोरोनाले गर्दा सम्पूर्ण व्यापार व्यवसाय बन्द भएका थिए । सो अवधिमा विगतका दिनमा प्रशोधन गरी राखेको पाउडरको खासै खपत नभएकाले धेरै घाटा व्यहोर्नु परेको व्यवसायीहरू बताउँछन् ।
त्यसैगरी, विगतको दिनमा प्रशोधन गरेर राखेको ३ अर्बको पाउडर दुध र बटर मौज्दात रहेको डेरी उद्योग एशोशिएसनका महासचिव दाहाल बताउँछन् । उनका अनुसार गत वर्ष पनि यस समयमा लकडाउन तथा निषेधाज्ञा भएर पाउडर दुध र बटर खपत हुन सकेको थिएन ।
यस वर्ष पनि सोही समस्या झेल्नु परेको उनको गुनासो छ । साथै, हाल बजारमा उत्पादन भएको दुध प्रशोधनको लागि लगेर व्यवस्थापन गर्न सक्ने स्थिति नरहेको उनले बताए ।