दिल्लीमा १५ दिनमै तयार भयो कोरोना संक्रमितका लागि आइसियू बेडसहितको अस्पताल

२ जेठ, काठमाडौं ।

भारतको राजधानी दिल्लीमा १५ दिनमै आइसियू बेडसहितको अस्पताल तयार भएको छ । प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २ सय ५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २ सय ५० बेड पनि सञ्चालनमा आउनेछन् ।

‘युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ केजरीवालले शुक्रबार ट्वीटरमा भनेका छन् ।

कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा संक्रमितको संख्या बढिरहेको छ भने गम्भीर बिरामीका लागि आईसीयू बेड र अक्सिजनको अभाव भइरहेको छ । आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको हो । त्यसबाहेक गत मंगलबारदेखि गुरु तेजबहादुर अस्पतालमा थप ५ सय आईसीयू बेड सञ्चालनमा ल्याइएको छ ।

केजरीवालले अब दिल्लीमा अक्सिजन, बेड र आईसीयूको कमी नहुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here