१ जेठ, सप्तरी ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालले अक्सिजन प्लान्ट राख्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले राहत तथा विपद् व्यवस्थापन कोषबाट पछि सोधभर्ना हुने गरी ३० लाख रुपैयाँ उपलब्ध गराउने भएपछि अस्पतालले प्लान्ट राख्ने भएको हो ।
बिरामीहरुको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको अस्पतालले सङ्क्रमितको उपचारका लागि २० एचडियूसहित ५० शय्याको आइसोलेशन कक्ष समेत सञ्चालनमा ल्याएको छ । अक्सिजनको अभावका कारण सङ््रमितको उपचारका लागि थप शय्या विस्तार हुन नसेकेको जिल्लामा अक्सिजन प्लाण्ट स्थापना पछि थप शय्या विस्तार गर्न सहज हुने विश्वास गरिएको छ ।
हाल अक्सिजनको अभावलाई न्यूनीकरण गर्न ५० किलोमिटर दूरीमा रहेको सुनसरीको इटहरीबाट अक्सिजन ल्याएर बिरामीको उपचार भइरहेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले बताए ।
दैनिक ५० वटा सिलिण्डर भर्न इटहरी पठाउनु परेको जानकारी दिँदै निमित्त मेसु डा झाले विषम परिस्थितिमा यथाशिघ्र अक्सिजन प्लाण्ट आवश्यक रहेको जनाए । अक्सिजन प्लाण्ट स्थापना भए शय्या विस्तार गर्न सकिने र सङ्क्रमितको उपचारमा सहज हुने भन्दै उनले अस्पताल र स्वास्थ्यकर्मीलाई हौसला र सहयोगका गर्न आग्रह गरे ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बसेका बैठकमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, विभिन्न स्थानीय तहका प्रमुख र अध्यक्ष, निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. झा, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव, सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । (रासस)