१ जेठ, सप्तरी ।
जिल्लाको सप्तकोशी नगरपालिकाले होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई घरघरमा नै पुगेर स्वास्थ्य सामाग्री वितरण गर्न थालेको छ । होम आइसोलेसनमा रहेका वडा नम्बर १, २ र ८ का ११ सङ्क्रमितका घरमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
उनीहरुका घरमा पुगी स्वास्थ्य अवस्था बुझेर औषधि वितरण गरिएको वडा नम्बर २ का वडा सदस्य जाहिर हुसेनले जानकारी दिए । नगर प्रमुख उत्तम शर्माको नेतृत्वको टोलीमा वडा सदस्य हुसेन, प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरीक्षक प्रराज चौलागाई, स्वास्थ्य चौकीका महेन्द्र झा र राजकुमार दास रहेका थिए ।
सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलव्ध गराउन घरघर पुग्न शुरु गरेको नगरप्रमुख शर्माले बताए । नगरपालिकाले २० शय्याको आइसोलेशन कक्ष र होल्डिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याएको छ । नगरभित्रका नागरिकलाई सुरक्षित राख्न, समस्यामा परेका नागरिकको सेवा गरी सङ्क्रमितलाई निको पार्न र कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न नगरपालिका सचेत रहेको उनले बताए । सङ्क्रमितले घरआँगनमा जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली पाउँदा हौसला मिलेको बताएका छन् । (रासस)