१ जेठ, काठमाडौं ।
बलिउड नायक सलमान खान अभिनित चलचित्र राधेले फिल्म समिक्षकबाट राम्रो प्रतिक्रिया नपाए पनि पहिलो दिन नै दर्शकको मामिलामा नयाँ रेकर्ड कायम गरेको छ ।
राधेले ओटिटि प्लेटफर्ममा ४.२ मिलियन भ्यूज हासिल गरेको छ । यससँगै ओटिटिमा रिलिज भएकोमध्ये एकै दिनमा सबैभन्दा धेरै हेरिएको फिल्मको सूचीमा यो फिल्म दोस्रोमा परेको छ ।
प्रतिभ्यू शूल्क २ सय ४९ रुपैयाँ भारु तोकिएकोले ४२ लाख जनाले हेरेकोमा यसको कमाइ सहजै अनुमान गर्न सकिन्छ । यसबाहेक विज्ञापनबाट पनि राम्रो कमाइ भएको छ । यद्यपि यसले फिल्म समीक्षकबाट निकै खराब रेटिङ पाएको थियो ।
इदको अवसरमा रिलिज राधे कोरोना संक्रमणका कारण बक्स अफिस र ओटिटि प्लेटफर्म दुवैमा रिलिज गरिएको थियो । भारतमा जिप्लेज र जिफाइभमा रिलिज भएको यो फिल्मले विदेशमा पनि राम्रो कमाइ गरेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुबइ र युएइका थिएटरमा फिल्मले राम्रो कमाइ गरेको छ । आधा सिटमा मात्र दर्शक राख्न पाइने नियम भए तापनि ७ सयभन्दा बढी सिनेमा हलमा रिलिज गरिएको फिल्मले त्यहाँ २ करोड ७७ लाख रुपैयाँ कमाइ गरेको छ ।
सलमानले पहिले जि स्टुडियोलाई २ सय ३० करोड भारुमा बेचेका थिए । तर लकडाउनका कारण यसको मूल्य घटाइ सय ९० करोडमा मात्र बेच्नुपरेको थियो । (एजेन्सीको सहयोगमा)