जसपा विवाद उत्कर्षमा, ठाकुर र यादव दुवै पक्षद्वारा बैठकको आधिकारीकता दाबी

१ जेठ, काठमाडौं ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव र महन्थ ठाकुर समूहबीचको विवाद यस बेला उत्कर्षमा पुगेको छ । यादव समूहको कार्यकारिणी समिति बैठकले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको छ ।

जसपामा यादव र ठाकुर गरी दुई अध्यक्ष रहेका छन् भने संघीय परिषद् अध्यक्षको रुपमा डा. बाबुराम भट्टराई रहेका छन् । शनिबार अध्यक्ष यादवले आफ्ना पक्षका कार्यकारिणी सदस्य तथा संसदीय दलको बैठक राखेर ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेका हुन् ।

संसदीय दलको विधान विपरित पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई ठाकुर पक्षले संसदीय दलको नेता चयन गरेको प्रति आपत्ति जनाउँदै सो बैठकले त्यो निर्णयलाई स्वीकार नगर्ने निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य एवं संसदीय दलका नेता इस्तियाक राईले बताए ।

अध्यक्ष ठाकुर र नेता महतोले पार्टीको अनुशासन उल्लघंन गर्ने कार्य गरेको बैठकको निष्कर्ष छ । भक्तपुरको रिसोर्टमा लगेर पार्टीका सांसदलाई थुनेर राख्नु, कुनै अर्को पार्टीका सांसदको उपस्थितिमा पार्टीका निर्णयहरु गराउनु, पार्टीको अनुशासन विपरित कार्य भएको बताउँदै इस्तियाकले यस विषयमा ठाकुरसँग अन्तिमपटक छलफल हुने बताए । छलफलमा कुरा नमिले विधान अनुसार अगाडि बढ्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । भौतिक उपस्थितिमा सम्भव नभए भर्चुअल माध्यमबाट भए पनि केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट निर्णयहरु गर्दै अगाडि बढ्ने निर्णय भएको उनले बताए ।

‘कुनै पनि निर्णय सर्वसम्मतिले भएन भने बहुमतका आधारमा अगाडि बढ्ने निर्णय भएको छ । त्यसअघि अध्यक्ष ठाकुरसँग अन्तिम पटक छलफल गरिन्छ’, उनले भने ।

यता विवादका बीच दुई समूहमा आफूलाई आधिकारिक देखाउन प्रतिस्पर्धा देखिएको छ । आज यादव समूहले बोलाएको बैठकलाई अवैध भएको दावी गर्दै ठाकुरले आपत्ति जनाएका छन् । ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको समेत बताए ।

‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’

यादव समूहले पनि महतोलाई संसदीय दलको नेता चयन नगरिएको भन्दै विज्ञप्ति निकालेको छ । जसमा भनिएको छ, ‘पार्टी संसदीय दल हालसम्म समायोजन नभएको साथै दलको विधान समेत नबनेको तथा जसपाको अन्तरिम विधान २०७७ को धारा २८ को उपधारा ३ बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनपर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन समेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकाले सो समाचार भ्रमपूर्ण रहेको छ ।’

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here