१ जेठ, काठमाडौं ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वितरण गर्दै आएको अक्सिजन अब स्वास्थ्य तथा जनसंख्या मन्त्रायल मार्फत वितरण हुने भएको छ ।
यस अघि सिसिएमसीले अस्पताअनुसार कोटा निर्धारण गरी दिँदै आएको मेडिकल प्रयोजनको अक्सिजन मन्त्रालयले गर्ने भएपछि अक्सिजनको हाहाकार घट्ने अपेक्षा गरिएको छ ।
माग र बिरामीको संख्याका आधारमा अक्सिजन नपाएको भन्दै धेरै निजी अस्पतालले बिरामी भर्ना बन्द गरेका थिए । कतिपय अस्पतालले अक्सिजन सकिएको भन्दै उपचाररत बिरामीलाई नै जबर्जस्ती डिस्चार्ज गरेका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन वितरणको व्यवस्था मन्त्रालयले गर्ने बताए । बिरामी संख्याका आधारमा अक्सिजन सहज बनाउन कोटा तोक्नैपर्ने भन्दै उनले यो काम अब मन्त्रालयले गर्ने बताए ।
मन्त्रालयले अक्सिजनको आकस्मिक व्यवस्थापनका लागि उच्चस्तरीय टोली नै बनाएको छ । प्रवक्ता गौतमले अस्पतालमा बिरामीको संख्या, आईसीयू, भेन्टिलेटर, एचडीयू बेडका आधारमा अक्सिजन वितरण गरिने बताए । ‘सीसीएमसीका मान्छेलाई आइडिया भएन, त्यसैले अक्सिजन व्यवस्थापन हामी नै गर्छौं’ उनले भने ।
अब अस्पतालहरुले बिरामीको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनुपर्ने र त्यही संख्याको आधारमा अक्सिजन उपलब्ध गराइने प्रवक्ता डा. गौतमले बताए । ‘जहाँ धेरै बिरामी छ, त्यो अस्पतालले धेरै पाउँछ, कम बिरामी हुनेले कम पाउँछ’ उनले भने ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख डा. समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी अस्पतालहरुले विगतमा लिने उद्योगबाटै अक्सिजन पाउने व्यवस्था मिलाउने जनाएका छन् ।