३१ वैशाख, विरेन्द्रनगर ।
कर्णाली प्रदेश कोभिड अस्पतालले बेड हुँदाहुँदै पनि अक्सिजन अभावमा थप संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको छ । अक्सिजनको अभाव हुँदा प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको एकमात्र ठूलो अस्पतालले कोरोनाका थप बिरामीलाई भर्ना गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ ।
‘अहिलेसम्म त नयाँ संक्रमितलाई भर्ना लिएका थियौँ । अब भने रोक्नुपर्ने स्थिति आएको छ,’ अस्पतालका निर्देशक डा. डम्मर खड्काले भने, ‘यसका लागि प्रदेश सरकारसँग हामीले छलफल थालेका छौं ।’ निर्देशक खड्काका अनुसार अस्पताललाई दैनिक ३ सय सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । तर, केही दिनअघिसम्म २ सय सिलिन्डर भरेर ल्याउने गरिएको थियो । बुधबारदेखि भने ५० सिलिन्डर मात्र अक्सिजन नेपालगंञ्जबाट आएको छ । जसले गर्दा अक्सिजनको हाहाकार भएको छ ।
‘नेपालगञ्जबाटै अक्सिजन ल्याउन सकिएको छैन, स्थानीयले नै खोसाखोस गरिरहेका छन् रे, यस्तो अवस्थामा हामीले कसरी बिरामीलाई भर्ना लिन सक्छौं,’ निर्देशक खड्काले भने । उनका अनुसार पर्याप्त अक्सिजन भए प्रदेश अस्पतालमा २ सय सम्म कोरोनाका बिरामी राख्न सकिन्छ ।
त्यसो त हाल प्रदेश अस्पतालले केवल ‘हाई फ्लो’ अक्सिजन दिनुपर्ने संक्रमितहरूलाई मात्रै लिन थालेको छ । अन्य संक्रमितलाई परामर्श दिँदै होम आइसोलेसनमा बस्न सुझाउने गरेको अस्पतालका डा. नवराज केसीले बताए । उनका अनुसार प्रदेश अस्पतालमा हाल ९२ जना कोरोनाका जटिल प्रकृतिका बिरामीहरु छन् । अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट सञ्चालनमा भएपनि ती प्लान्टबाट ‘हाइफ्लो’मा अक्सिजन दिन सकिएको छैन ।
‘अहिले धेरैजसो बिरामीलाई प्लान्टबाटै अक्सिजन दिने काम भइरहेको छ, तर हाइफ्लो चाहियो भने सिलिन्डर नै स्वीच गर्नुपर्छ, हामीसँग सिलिन्डरको चर्को अभाव छ,’ डा. केसीले भने ।
अस्पतालको पुरानो र नयाँ दुई वटै भवनबाट कोभिड अस्पताल सञ्चालन गरिएको छ । पुरानो भवनमा ५० र नयाँ भवनमा ४२ जना बिरामी राखिएको छ । डा. केसीका अनुसार पुरानो भवनमा भएकामध्ये केहीलाई प्लान्टबाटै अक्सिजन दिइएको छ ।
नेपालगञ्जमा पनि अक्सिजनको आक्रान्त अवस्था भएकाले कर्णालीमा आउने अक्सिजन घटेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन् । ‘पछिल्लो समय त बिरामीका आफन्तले सुर्खेत ल्याउन लागेको अक्सिजन गाडीबाटै लगेछन्, त्यहाँ पनि अवस्था आक्रान्त छ,’ रिजालले भने ।
३६ घण्टापछि आउँछ अक्सिजन भर्ने पालो
प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै दैनिक ३ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ । तर, वीरेन्द्रनगरका लागी १ सय ३० सिलिण्डर मात्रै कोटा निर्धारण गरिएको सप्लायर्स पवनपुत्र ट्रेडर्सका सञ्चालक हरि बिसीले बताए ।
‘कर्णालीमा अक्सिजन प्लान्ट नहुँदा व्यवसायीले मात्रै होइन्, विरामीले पनि ठूलो सास्ती भोग्नु गरेको छ । बाँकेको अक्सिजन उद्योगमै स्थानीयहरु सिलिण्डर लिएर पुग्ने गरेका छन्,’ उनले भने ।
बाँके जिल्ला प्रशासन कार्यालयले पनि सुरुमा भेरी अस्पताल र त्यसपछि कोहलपुर मेडिकल कलेजका लागि आवश्यक अक्सिजन सिलिण्डर नभर्दासम्म अन्य जिल्लाबाट लगिएका सिलिण्डर भर्न नदिएको सप्लायर्स कम्पनीहरु बताउँछन् ।
सुर्खेतमा श्रीराम सप्लायर्स र पवनपुत्र ट्रेडर्सले मात्रै अक्सिजन वितरण गर्दै आएका छन् । संकटको बेला दुईवटा सप्लायर्सलाई १ सय ३० वटा मात्रै कोटा निर्धारण गरिएको छ । ३६ घण्टामा एक पटक मात्रै सुर्खेतले अक्सिजन भर्ने पालो पाउने गरेको छ ।