तीन नाल भरुवा बन्दुकसहित शिकारी प्रहरी नियन्त्रणमा

३१ वैशाख, सर्लाही ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

चार÷पाँच जनाको समूहका रहेका शिकारीले जङ्गलबाट निलगाई मारी छाला काडिरहेको समयमा प्रहरीको गस्ती टोली पुगेपछि प्रहरीमाथि नै तीन÷चार राउण्ड हवाई फायरसमेत गरेको प्रहरी निरीक्षक ढुंगानाको भनाइ छ । शिकारीले प्रहरीलाई देख्नासाथ प्रहरीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफमा दुई राउण्ड हवाई फायर गर्नुपरेको थियो ।

प्रहरीमाथि हवाई फायर गरी अन्य शिकारी भागे पनि ईश्वरपुर नपा–४ का अन्दाजी ५२ वर्षीय रणबहादुर गोलेलाई प्रहरीले तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको छ । गोलेको साथबाट सो बन्दुकमा लाग्ने बारुद एक बट्टा, प्रदेश–२–०३२प २५२२ नम्बरको मोटरसाइकल र बिआर३०यु ४६७७ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद भएको छ ।

प्रहरी निरीक्षक ढुङ्गानाका अनुसार मारिएको निलगाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले सागरनाथ वन विकास परियोजनालाई जिम्मा लगाएको र फरारहरूको खोजी अघि बढाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here