दुर्घटना गराई फरार रहेका वडाअध्यक्ष यादव पक्राउ

३१ वैशाख, सर्लाही ।
जिल्लाको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो ।

घटनालगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेको इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा यादवले चलाएको बिआर३०एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको थियो ।

महतोको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भाटले बताए । पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here