विवाहभोजमा गएकामा कोरोना संक्रमण, एकै घरका तीनको मृत्यु

३१ वैशाख, बाग्लुङ ।
बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक साताभित्रै मृत्यु भएको हो ।

बडिगाड–४ को जलजलामा दुई साताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयले बताएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

एक साताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here