३१ वैशाख, काठमाडौं ।
गाजाका हमास नेतृत्वसँगको लडाइ अन्त्य तत्काल सम्भव नभएको र यसमा ‘समय लाग्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् ।
उनले भने, ‘गाजामा हमासको विरूद्ध इजरायलको हवाई हमला तत्काल अन्त्य गर्न सम्भब छैन । यसले समय लिनेछ तर दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा – इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं ।’
उनले स्थलगत कारबाहीको तयारीको विभिन्न चरणमा गाजा पट्टी र इजरायलको बीचमा छुट्टिएको सीमानाको विभिन्न स्थानमा युद्धक सेना अघि बढेको बताए । ‘सेनाले ती तयारीहरूको निरीक्षण गर्दैछ र निर्देशन दिइरहेको छ,’ उनले भने ।
विगत चार दिनदेखि भएका आक्रमणमा बिहीबारसम्ममा १३ बालबालिकासहित ८३ प्यालेस्टिनी र सात इजरायलीको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरूलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सयभन्दा बढी हवाई र रकेट आक्रमण गरेको थियो ।
प्यालेस्टिनी लडाकू समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो । यसैबीच अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । (एजेन्सीको सहयोगमा)