प्रधानमन्त्रीका रुपमा पुनः ओली नियुक्त

३१ वैशाख, काठमाडौं

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयले सूचना दिँदै यसको जानकारी दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ आजै, शुक्रबार अपरान्ह हुनेछ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

तर उक्त धाराअनुसार सरकार गठनको प्रयासमा जुटे पनि असफल रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी नगरेपछि पुनः ओली नै नियुक्त भएका हुन् । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएनन् ।

त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिएकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here