३० वैशाख, काठमाडौं ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै प्रधानमन्त्रीका रुपमा पुनः केपी शर्मा ओली दोहोरिने लगभग निश्चित भएको छ ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा नदिने भएपछि दुवै दल नयाँ सरकार गठनको दावी नगर्ने निष्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।
३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् ।
बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए ।
सरकार गठनमा बहुमत पु¥याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफलपश्चात् नेपाल पक्षले तत्काल राजीनामा नदिने भएपछि कांग्रेस र माओवादीले यस्तो निर्णय गरेका हुन् ।
अब एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दाबी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने चाहिँ प्रष्ट भइसकेको छैन । किनकी बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।