३० वैशाख, काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४ सय ६६ पुगेको छ ।
पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक बढेको छ । मंगलबार एकै दिन २ सय २५ जना र बुधबार १ सय ६८ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४ सय ७४ पीसीआर र ७ सय ७१ एन्टिजेन परीक्षणमा आठ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १ सय ९१ जना पुगेको छ ।
सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २ सय ७ पुगेको छ । तीमध्ये ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा र आठ हजार ८ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३ सय ८१ जना आईसीयूमा र ३ सय ८० जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५ सय १८ रहेको छ ।