३० वैशाख, काठमाडौं ।
नेकपा एमाले असन्तुष्ट पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना माग पूरा गर्न बिहीबार दिउँसो चार बजेसम्मको अल्टिमेटम दिएको छ । आफ्ना माग पुरा नभए आफूहरु सबैले राजीनामा दिने नेता भीम रावलले बताएका छन् ।
रावलले फागुन २८ गतेको आफ्ना पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने ओलीको निर्णय फिर्ता हुनुपर्ने आफूहरुको मुख्य माग रहेको बताए । उनले भने, ‘हामी स्थायीत्व चाहन्छौँ । पार्टी टुक्रियोस् भन्ने हाम्रो चाहना होइन । यदि हाम्रो माग पूरा हुन्छ भने पार्टी एकता सम्भव छ ।’
रावलले चार बजेसम्म अध्यक्ष ओली र नेपालबीच वार्ता हुने सम्भावना रहेको र वार्तामा सहमति भएमा स्थायी कमिटीबाट त्यसलाई पारित गर्ने बताए । वार्तामा सहमति नभएमा आफूहरुले राजीनामा दिने र अर्को पार्टी गठन गर्ने निर्णयमा आफ्नो पक्ष पुगिसकेको रावलको भनाइ छ ।