३० वैशाख, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन दलहरुलाई दिएको समयसीमा सकिन केही घन्टा बाँकी रहँदा आफ्नै दलका नेतालाई फकाउनतिर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लागेका छन् ।
आफूसँग असन्तुष्ट माधवकुमार नेपाललाई फकाउने तीव्र प्रयासमा उनी लागेको उनीनिकट नेता बताउँछन् । त्यसक्रममा उनले बिहीबार बिहान स्थायी कमिटी बैठकमार्फत नेपालसहित चारजना नेतामाथि लगाएको ६ महिने निलम्बन फुकुवा गरेका छन् ।
ओली निकट एक स्थायी कमिटी सदस्यका अनुसार ओलीले बिहीबार नै नेपालपक्षलाई समेत समावेश गरेर स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।
साथै उनले नेपालसँग एक्लै वार्ताको पहल पनि गरिरहेका छन् । ती सदस्यका अनुसार ओलीले बुधबार राति र बिहीबार बिहान नेपाललाई फोन गरेर वार्ताको प्रयास गरेका थिए । राष्ट्रपति भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।
नेपाल फागुन २८ मा आफूपक्षीय पदाधिकारीलाई जिम्मेवारीबाट हटाउने ओलीको निर्णय फिर्ता लिनुपर्ने अडानमा छन् । आफ्नो निर्णय उल्ट्याउन ओली अहिलेसम्म सहमत भएका छैनन् । तर स्रोतका अनुसार नेपालसँग विवाद उत्पन्न भएपछि पुनः गठन गरेका तल्ला कमिटीलाई मिलाउन कार्यादल गठन गर्न ओली सहमत छन् ।
वैशाख २७ गते नेपाल पक्षका नेपाल सहित २८ जनाले ओलीलाई ‘विश्वासको मत’मा मत हालेको थिएन । यो बीचमा ओलीले आफ्ना विश्वास पात्रलाई नेपाल पक्षका दोस्रो तहका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेताहरुसँग तारन्तार छलफल गर्न लगाइरहेका छन् ।