खोपका लागि कूटनीतिक पहल गर्दै सरकार

३० वैशाख, काठमाडौं ।

नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन छिमेकी तथा मित्रराष्ट्रहरुसँग पहल गरिरहेको जनाएको छ । यद्यपि तुरुन्तै त्यस्तो कुनै सहयोगको आश्वासन नआएको बताइएको छ ।

सहयोगका लागि निरन्तर पहल भइरहेको परराष्ट्र मन्त्रालयको भनाइ छ । सहयोगको आग्रहसहित विभिन्न देशलाई औपचारिक पत्राचार नै गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिइन् । उनले भनिन्, ‘हामीले देश विशेषलाई खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री माग गरी पत्रचार गरेका छौँ । कुरा सकारात्मक रुपमा अघि बढिरहेको छ ।’

अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया, चीन, भारत र रसियालाई पहिलो चरणमा नेपालस्थित दूतावासहरु तथा नेपालका सम्बन्धित देशस्थित दूतावासमार्फत पत्रचार गरिएको उनको भनाइ छ । उनले भनिन्, ‘यी देशसँग खोपकै लागि पहल भइरहेको छ । तर तत्कालका लागि खोप सहयोग स्वरुप पाउने सम्भावना त्यति देखिएको छैन । उनीहरुले सकारात्मक कुरा गरिरहेका छन् । तत्काल नभए पनि केही समयभित्र खोप आउन सक्ने देखिन्छ ।’

सुरुमा सहयोग स्वरुप नै खोप माग गरी पत्राचार गरिएको भए पनि अहिले खरिद प्रक्रियाको कुरा पनि भइरहेको सहसचिव लम्सालले बताएकी छिन् । ‘खोप उत्पादन हुने देशहरुसँग कुरा गर्ने हो । उनीहरुकै देशमा पनि संक्रमणको अवस्था छ, आफ्नै नागरिकलाई प्राथमिकतामा राखेका छन् । यस्तै कूटनीतिक सम्बन्धका आधारमा आफ्ना लागि महत्वपूर्ण देशहरुलाई उनीहरुले प्राथमिकतामा राखेका छन् । हामीले अवस्था गम्भीर बन्दै गएको भनी नेपालका लागि पनि पहल गरिरहेका छौँ’, उनले भनिन् ।

युरोपियन युनियन (इयू) सँग पनि सहयोगका लागि कुराकानी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया तथा बंगलादेशसँग पनि अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग तथा खरिद प्रक्रियालाई लिएर कुराकानी भइरहेको प्रवक्ता लम्सालले बताइन् ।

नागरिक अभियन्ता तथा विज्ञहरुले पनि अमेरिका, बेलायतसहितका देशहरुलाई नेपालमा कोरोना भाइरस महामारीको अवस्था भारतको जस्तै भयावह बन्ने तर्फ गइरहेको भन्दै खोप तथा अक्सिजनसहितका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिदिन अपील गरिरहेका छन् ।

अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सिनेटरहरुले नेपालमा कोरोना भाइरस महामारीको अवस्था र सहयोगका लागि भइरहेको पहलबारे अमेरिकी सहयोग नियोग युएसएडका प्रतिनिधिसँग ब्रिफिङ्ग माग गरेका थिए । त्यसक्रममा युएसएसडका प्रतिनिधिले नेपाल आफूहरुको सहयोग सूचीको प्राथमिकतामा रहेको र काम भइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here