स्वतन्त्र प्यानल भन्छ : कोरोना नियन्त्रणमा सरकारहरुको प्रयास ‘टक्सिक ककटेल’

३० वैशाख, काठमाडौं ।

कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भएका प्रयासहरु असफल भएको विश्व स्वास्थ्य संगठत (डब्लुएचओ)द्वारा गठित स्वतन्त्र प्यानलले निष्कर्ष निकालेको छ । कोरोना नियन्त्रण गर्न सकिने भएन र त्यसो हुन नसक्दा अहिलेको अवस्था आएको स्वतन्त्र अनुगमन समूहले बताएको हो ।

प्यानलले महामारी नियन्त्रणका लागि डब्लुएचओ तथा विश्वभरका सरकारहरुको प्रयास ‘टक्सिक ककटेल’ जस्तो रहेको भन्दै आलोचनासमेत गरेको छ । प्यानलका अनुसार डब्लुएचओले कोरोना भाइरसको महामारीलाई चाँडै नै विश्वव्यापी आपतकालीन अवस्थाको घोषणा गर्नुपर्ने थियो ।

प्यानलले आफ्नो प्रतिवेदनमा तत्काल अत्यावश्यक परिवर्तन नगरिएमा विश्वमा अर्को प्रमुख र जोखिमपूर्ण महामारीको खतरा रहेको उल्लेख गरेको छ ।

कोभिड–१९ का कारण विश्वभर हालसम्म ३३ लाख २६ हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । विश्वभर कुल संक्रमितको संख्या १६ करोड ६३ हजार भन्दा बढी पुगेको तथ्यांकले देखाउँछ ।

बलिया देशमा संक्रमण घट्दो, कमजोर देशमा बढ्दो
अमेरिका र युरोपका देशहरुमा अहिले संक्रमण केही कमजोर हुँदै जाँदा प्रतिबन्धात्मक उपायहरु हटाउन थालिएको छ । तर भारत, नेपालसहित एसियाली देशहरुमा संक्रमण तीव्र गतिमा बढ्दो छ ।

हाल विश्वव्यापी महामारीको इपिसेन्टरका रुपमा रहेको भारतमा नयाँ संक्रमण तथा मृत्यु निरन्तर बढिरहेको छ । बिरामीको उपचारका लागि आधारभूत औषधि तथा अक्सिजन र अस्पतालमा शय्याको अभाव छ ।

नेपालमा पनि अवस्था भयावह बन्दै गएको छ । संक्रमित थपिएका छन्, भने उपचार तथा अक्सिजन अभावमा मृत्यु पनि बढिरहेको छ । महामारीको तयारी तथा प्रतिक्रियाको अवस्था मूल्यांकनका लागि बनाइएको स्वतन्त्र प्यानलले ‘कोभिड–१९ः मेक इट द लास्ट प्यानडेमिक’ नामक प्रतिवेदन तयार पारेका हुन् ।

प्यानलका सहअध्यक्ष तथा लाइबेरियाका पूर्व राष्ट्रपति एलन जोन्सन सरलिफले भनेका छन्, ‘महामारीका कारण अहिले हामी जुन अवस्थामा छौँ यो रोक्न सकिने थियो । गम्भीर असफलता, सहकार्यको कमी तथा दूरी एवम् तयारी तथा रेस्पोन्सका लागि गरिएको ढिलाइका कारण यस्तो भएको हो ।’

प्यानलले चीनमा देखिएको कोरोना भाइरसको महामारीलाई डब्लुएचओको आकस्मिक कमिटिले अन्तर्राष्ट्रिय आपतकाल गरिएकोभन्दा हप्ता दिन पहिले घोषणा गर्नु पर्ने बताएको छ ।

सन् २०२० को जनवरी २२ कै बैठकबाट अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरिएको भए र सोही अनुसार सावधानी अपनाइएको भए धेरै ज्यान जोगाउन सकिने दाबी प्यानलले गरेको छ । डब्लुएचओले सन् २०२० को जनवरीमा कोरोना भाइरसको महामारीलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरेको थियो ।

डब्लुएचओले अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरेपछि पनि विश्वका अधिकांश देशहरुले संक्रमण नियन्त्रण तथा भाइरसको फैलावट रोक्नका लागि उपयुक्त कदम नचाल्नु झनै गम्भीर गल्ती रहेको प्यानलको निष्कर्ष छ ।

भविष्यमा हुन सक्ने अर्को महामारी र त्यसले निम्तिन सक्ने गम्भीर अवस्था रोक्नका लागि अहिलेदेखि नै सबै पक्ष जिम्मेवार भइ तयारीमा जुट्नु पर्ने सुझाव प्यानलले प्रतिवेदनमार्फत दिएको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here