३० वैशाख, काठमाडौं ।
एमाले स्थायी कमिटि बैठकले आफ्नो वरिष्ठ नेतासहितलाई गरेको कारवाही फिर्ता लिने निर्णय गरेको छ । पार्टिका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बिहीबार उक्त निर्णय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
बैठकले माधवकुमार नेपालसहित चार नेतालाई ६ महिनाका लागि गरेको निलम्बन फुकुवा गरेको हो । बालुवाटारमा बिहीबार बसेको बैठकले नेपाल उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि गरेको कारबाही फुकुवा गरेको निर्णयमा उल्लेख छ ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटिको अधिकार आफूमा खिचेर गत चैत १६ र १९ गते नेताहरुलाई निलम्बन गरेका थिए । पार्टी एकताको रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै यस्तो निर्णय गरेको प्रवक्ता ज्ञवालीको भनाई छ ।
आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने कारक बन्ने खालको बाटोमा नहिँड्न नेता नेपाल पक्षलाई आह्वान पनि बैठकले गरेको छ ।
बैठकले स्थायी कमिटिको अधिकार अध्यक्ष ओलीलाई दिने निर्णयसमेत गरेको ज्ञवालीले जानकारी दिए । पार्टीहित विपरीत समान्तर गतिविधि गरेको भन्दै ओलीले चार नेतालाई प्रष्टिकरण सोधेका थिए ।
पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा नेपाल पक्षले सांसद पदबाट राजीनामा नै दिएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्ने दिशामा अघि बढेपछि ओलीले कारबाही फुकुवा गरिदिएका हुन् ।
राजीनामाबाट रोक्न ओली पक्षीय नेताहरुले नेपालसँग छलफल गरिरहेका बेला कारबाही फुकुवा गरेर वातावरण केही सहज बनाउन खोजेका छन् ।
स्थायी कमिटि बैठक अघि नेता नेपालको कोटेश्वरस्थित निवासमा ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल पुगेको स्रोतको भनाइ छ । नेपाल, पौडेल र सोमप्रसाद पाण्डेबीच झण्डै आधा घण्टा छलफल चलेको थियो ।